काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असारमै ठेगान नलगाउँदा अहिलेको अवस्था आएको बताएका छन्।
आइतबार समाजवादी पार्टीले काठमाडौंमा गरेको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीलाई असारमै ठेगान नलगाउँदा अहिलेको संकट आएको बताएका हुन्।
प्रदर्शनलाई सम्बोधन गर्नेक्रममा भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिए। ओलीलाई असारमै ठेगान नलगाएक कारण प्रचण्ड र माधव नेपाल सडकमा बस्नु परेको बताए।
“यो भष्मासुर हो, यसले हात राखेपछि माहादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।”,उनले भने।
ओली विरुद्ध कडा रुपमा प्रस्तुत भएका भट्टराईले प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास दोहोर्याएको आरोप लगाए। २०१५ मा बनेको संविधान स्वीकार गरेर राजा महेन्द्रले २०१७मा संसद विघटन गरेजस्तै ओलीले पनि त्यस्तै गरेको भट्टराईको आरोप छ।
भट्टराईले भने,”१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे । जसका कारण ३० बर्ष लडाई गर्नुपर्यो । ५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे । अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।”
यस्तै भट्टराईले चुनाव घोषणा नाटक मात्रै भएको पनि बताएका छन्। चुनाव घोषणा गरेपछि पनि ओलीले मन्त्रिपरिषद विस्तार गरेको प्रति भट्टराईले आपत्ति जनाए। उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए।
“प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्। चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ?”,उनले भने,”म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो। मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस्. यो नैतिकताले मिल्दैन।”