काठमाडौं । नेपालको अनौपचारिक भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीको टोली पिपिई लगाई नेपाली सुरक्षाबिना नै भेटघाटमा दौडिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको संकटसँगै राजनीतिक अनिश्चय बढेका बेला चिनियाँ उच्च अधिकारीको टोली आइतबार मध्यान्ह काठमाडौं आइपुगेको हो । प्रतिनिधि सभा विघटनपछिको राजनीतिक घटनाक्रमलाई नजिकबाट केलाउन पैचिङको विशेष प्रतिनिधिका रूपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेता कुअ यचौको नेतृत्वमा चार सदस्यीय टोली आएको छ । १ बजेर ५७ मिनेटका काठमाडौं आइपुगेको टोली विमानस्थलबाट बाहिरिदा पिपिई सेट लगाएर निस्किएको थियो । उनिहरुको सुरक्षाका लागि पुगेको नेपाल प्रहरीलाई सुरक्षा नचाहिने भन्दै फिर्ता पठाएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
भृकुटीमण्डपस्थित मुख्य घटना सहायता कार्यदल (नगर प्रहरी) ले इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा ३० जनाको प्रहरी टोली विमानस्थलमा तैनाथ गरेको थियो । तर, उनीहरु पुग्नुअघि नै त्यहाँ चिनियाँ दूतावासबाट खटिएर पुगेका दुईजना सुरक्षाकर्मी थिए । ती सुरक्षाकर्मी दूतावासमा खटिने चिनियाँ सैनिक सहचारीमध्येका थिए । चिनियाँ टोलीले विमानस्थलमै आफुहरु अनौपचारिक भ्रमणमा आएकोले सुरक्षा नचाहिने स्पष्ट गरिदिएका थिए । विमानस्थलबाट दूतावासकै गाडी चढेर सो टोली बालुवाटास्थित चिनियाँ दूतावास गएको थियो । दूतावासमा केही समय विताएपछि सो टोली एकाएक सक्रिय बनेको छ । टोलीले आइतवार पाँच बजेबाट शुरु गरेको भेटघाट राति १० बजेसम्म पनि जारी नै रहेको थियो । शुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिव एक घण्टा शितल निवासमा भेट गरेको छ । भेटमा राष्ट्रपति र टोलीका नेताहरुमात्र सहभागी भएको स्रोतको भनाई छ ।
चिनियाँ टोलीले त्यसपछि पुष्पकमल दाहाल–माधवकुमार नेपालसँग पनि छलफल गरेको छ । शुरुमा टोलीले नेताहरुको कुरामात्र सुनेको बताइएको छ । पहिलो चरणमा समस्या कहाँ छ भनेर बुझ्ने र त्यसपछि समाधान के हुन्छ भनेर सहमतिको विन्दु खोजिन लागेको उच्च स्रोतले जानकारी दिएको छ । दाहाल–नेपाल समुहको सोमबार प्रर्दशन रहेकाले त्यसपछि मात्रै वृहत्त छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतवार साँझ भेट्ने बताएपनि कार्यव्यस्थताका कारणले भेट हुन नसकेको बताइएको छ ।
नेकपाले विभाजनको बाटो समातेका बेला यचौको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै यचौ नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला तत्कालीन माओवादी अध्यक्ष दाहालसहितका नेतालाई भेटेको सार्वजनिक भएको थियो । उनले यी दुई कम्युनिष्ट पार्टीको एकीकरणका लागि सूत्रधारका रुपमा काम गरेको रूपमा अथ्र्याइएको थियो ।
यचौ नेपाल मामिलामा जानकार चिनियाँ नेता मानिन्छन् । ३० भदौ–३ असोज २०७५ मा तत्कालीन नेकपा अध्यक्ष दाहालले चीन भ्रमण गर्दा क्वाङ्चौमा यचौले दाहाललाई स्वागत गरेका थिए । दाहाललाई स्वागत भेट गर्न आएका यचौ टिसर्टमा आएपछि त्यसलाई कूटनीतिक प्रचलन विपरीतको तथा चिनियाँ असन्तुष्टिका रूपमा अथ्र्याइएको थियो । त्यो बेला उनले ओली सरकार ढाल्न भूमिका खेलेको चीन असन्तुष्ट बनेको थियो ।