संसद विघठनपछि नेपाली कांग्रेस : विरोधसँगै निर्वाचनको तयारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गरेको संसद विघठनको विरोध गर्दै निर्वाचनको तयारीमा जुट्ने संकेत गरेको छ । पार्टीभित्र अब कसरी जाने भनेर एक ढिक्का नभएपनि केन्द्रीय कमिटीले निर्वाचनको तयारीमा जुट्ने निर्णय गर्ने बताइएको छ । सरकारको कदमका विरुद्ध सोमबार कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ । विरोध कार्यक्रममा बोल्ने नेताहरुले आफुअनुसारको धारणा राखेका छन् । सभापति शेरबहादुर देउवाले भने न्यायलयलाई कसैले पनि धम्क्याउने काम गर्न नहुने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक र अप्रजातान्त्रिक भएको बताएपनि अदालतको निर्णय सर्वपरी हुने बताए । संसद विघठनको पक्ष र विपक्ष दुवैमा अहिले कांग्रेस नबोल्ने र त्यसैअनुसार अगाडी बढ्न नेता कार्यकर्तालाई पनि निर्देशन दिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा बोल्दै सभापति देउवाले कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकाले अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताएका हुन् । ‘अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन’, देउवाले भने, ‘सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो । न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं ।’

उनले सरकारले संसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए । सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपछि स्वीकार गर्ने सभापति देउवाले बताए । ‘अदालतमा विचाराधीन मुद्दामा हाम्रो पार्टी केही भन्दैन । हामी अदालतको आदेश मान्नेछौं । देशभरीमा ओलीको असंवैधानिक, अप्रजातान्त्रिक कदमको विरुद्धमा हामी विरोध प्रदर्शन गर्नेछौं,’ देउवाले थपे, ‘हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस् हामी अदालतको आदेश मान्छौं । अदालतलको स्वविवेकीय अधिकार छ । अदालतको निर्णयसम्म पर्खिन्छौं । अदालतलको निर्णय मान्ने पार्टी हो, त्यसलाई स्वीकार गर्नेछौं ।’

प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीका कुनै पनि नेताले भन्न नहुने पनि बताए । त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो । उनले पञ्चायतकालमा पनि अदालतबाट न्याय पाइएको स्मरण गर्दै अहिलेको अदालतले पनि स्वविवेकीय निर्णय लिने विश्वास व्यक्त गरे ।

कोरोना महामारी चलिरहेकाले कम्तिमा ‘दुई गज’को दुरी राखेर प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई सुझाएका थिए । सरकारको कदम असंवैधानिक भएपनि अहिले कांग्रेस एक्लै विरोध प्रदर्शनमा उत्रिने सभापति देउवाले बताए । उनले त्यसो गर्दा आफ्नो पार्टीको शक्तिको आँकलन हुने बताए । त्यस्तै पार्टीका धारणा स्पष्ट रूपमा जनतासामू राख्न पनि एक्लै प्रदर्शनमा जानुपर्ने देउवाको भनाइ थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसयता सत्तारुढ दल दुई खेमामा विभाजन भएको छ । प्रधानमन्त्री ओली पक्ष बैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्षमा लागेको छ भने पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष संसद विघटनको विपक्षमा रहेको छ । सो विवाद नेपाली कांग्रेसभित्र पनि पसेको छ । देउवा अदालती निर्णय मानेर जानुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने भनिरहेको छ ।

देउवाले अदालतलाई यसो गर भनेर धम्क्याउन नहुने बताएकै बेला उता गृहजिल्ला तनहुँको भीमादमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको धारणा राखे । ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ,’ वरिष्ठ नेता पौडेलले भने । मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो ।

नेपाल कम्युनिस्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ,’ उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’

नवलपुरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चुनाव गर्नेमा आशंका व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनविरुद्ध आज विरोध सभा भयो, चुनावको पनि एउटा अभ्यास हो, म तपाईंहरूसँग चुनावमा त आउला मेरा लागि अवसर हो । जहिले चुनाव हुन्छ, त्यो अवसर हो, वैशाख १७ र २७ गते चुनाव घोषणा भएको छ,’ कोइरालाले भने, ‘ओली सरकारले गर्दैन जस्तो लाग्छ, तर हाम्रो त प्रेसर पर्छ उनलाई । आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, कांग्रेसले मात्र यो देशमा परिवर्तन ल्याउँछ ।’

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७०८:१५

नेकपालाई चीनको सुझाव : ‘सहमति गरेर अघि बढेकै राम्रो’