ओली र ज्ञानेन्द्र एकै रहेछन् भन्दै माधव कुमार नेपालले गरे यस्तो खुलासा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाह एकै भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीमा पूर्वराजा ज्ञानेन्द्रकै प्रवृति देखिएको बताएका हुन्।

काठमाडौंको भृकुटी मण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले विगतमा ज्ञानेन्द्रले आफूलाई गिरिजाप्रसाद विदेशी दलाल हो भनेर आफूलाई उक्साउने र आफू नहुँदा गिरिजाप्रसादलाई आफूहरु विरुद्ध उक्साउने गरेको स्मरण गरे।

ओलीले पनि नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध आफूलाई उक्साउने र आफूहरु विरुद्ध प्रचण्डलाई उक्साउने गरेको आरोप लगाए। पछि आफूहरु एक भएपछि ओलीको भण्डाफोर भएको नेता नेपालको भनाई छ।

ओलीले पार्टीका नेताहरुलाई एक-अर्का विरुद्ध उक्साउन गरेको प्रयास बारे स्पष्ट पार्दै नेता नेपालले यसो भने –

कमरेड बामदेवलाई बिहान ११ बजे बोलाएर भन्नुहुन्छ, म आजै छोड्न चाहन्छु, तपाई प्रम हुनुपर्‍यो । उपचुनाव गरेर भएपनि ल्याउन आतुर छु । राष्ट्रिय सभाबाट आउने भएपनि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन तयार छु । पार्टीको महाधिवेशन गरेर एकल अध्यक्ष बनाउन पनि आतुर छु ।

१२ बजे मलाई बोलाएर भन्नुहुन्छ, अरु कोही काबिल भएनन् माधव कमरेड । तपाई नै प्रधानमन्त्री हुनुपर्‍यो, पार्टीको एकल अध्यक्ष हुनुपर्‍यो । अनि, ४ बजे कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले । तपाईभन्दा गतिलो कोही छैन । तपाई एकल अध्यक्ष हुनुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ ।

जब तीन जना हामी भेला हुन्छौं, जम्मै भण्डाफोर हुन्छ । ठीक यही प्रवृत्ति थियो तत्कालीन राजा ज्ञानेन्द्रमा । मलाई बेलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो । नेपाली कांग्रेस काम नै लाग्दैन । कम्युनिस्टमा देशभक्ति हुन्छ, माधवजी, तपाईले भुमिका खेल्नुपर्छ ।

म त्यहाँ हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाहहरु हुन् । नेपालमा यसको नामेट गर्नुपर्छ । माधव नेपाल जस्ताले केही गर्न सक्छ ? गिरिजाबाबु तपाईँ त महान मान्छे ।

जब हामीले दुबैले के कुरा भयो हँ भनेर सोध्यौं । पोल खोलाखोल भयो । हामीले सल्लाह गर्यौँ, अब भेट हुँदा एकले अर्कालाई जानकारी गराउने । पोल खुलेपछि संयुक्त रुपमा जान थाल्यौं । संयुक्त रुपमा गएर पनि पार लागेन, जान छोडिदियौं । सडकको बाटो सामात्यौं, आन्दोलनको आँधीबेहरी सृष्टि गर्‍यौं र त्यसपछि राजतन्त्रको अन्त्य भयो । बडो लाजमोर्दो कुरा हो, पार्टीभित्र पनि यस्ता तत्व जन्मिँदो रहेछ ।

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७१६:१३

उखुको बक्यौता नपाउँदै अस्ताए नारायणराय यादव …