‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा दाहाल–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आइरहेका छन् ।

काठमाडौंसहित देशैभर एकै दिन प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दाबी गरिएको छ ।

दुवै समूहका नेताहरूले एक अर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार दाहाल–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए ।

असंवैधानिक कदम सच्याइएमा पार्टी एकता कायम राख्न सकिन्छ: दाहाल
प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताएका छन् ।

काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ दाहालले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

अहिले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने उनले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए । सरकारले घोषणा गरेको वैशाखमा चुनाव नहुने भन्दै उनले ओलीको कदमले मुलुक धरापमा परेको बताए।

प्रकाशित : बुधबार, पुष १५, २०७७१०:१७

आन्दोलनको मौषम, देशभर कोरोना फैलिने भय !