काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दावी गरेका छन्।
गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटका क्रममा पूर्वउर्जामन्त्री समेत रहेका पुनले बुधबार वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने पुनले बताए। अबको चार महिनामा चुनाव नहुने र चुनाव नहुने बेला सम्म ओली पनि सत्तामा नरहने उनको भनाई छ।
झण्डै दुई तिहाइको समर्थन पाउँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनले बताए।
“इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ। अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।”,उनले भने।
यस्तै पुनले ओली जसरी भएपनि सत्ता लम्ब्याउने प्रयासमा रहेको खुलासा पनि गरेका छन्। सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की ओलीले दिने गरेको उनको भनाई छ। ओलीले दिने यस्ता धम्कीले नेपाली जनता तथा आफूहरु नतर्सिने पनि उनले बताए।
“निक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ। वर्षौँसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।”,उनले भने।