“माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै हुन्”

काठमाडौँ – : प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल पुष्पकमल दाहाल(प्रचण्ड)को मामुली कार्यकर्ता मात्रै भएको टिप्पणी गरेका छन्।

आफू पक्षीय सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले बुधबार माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका हुन्। पहिला पदको लोभ छैन भन्ने माधव कुमार नेपाल अहिले आएर प्रचण्डको कार्यकर्ता बन्न पुगेको ओलीको टिप्पणी छ।

“माधवकुमार नेपालको बारेमा धेरै, टिप्पणी गर्न चाहन्नँ। उहाँ त प्रचण्डको मामुली कार्यकर्ता हो। मलाई पदको लोभ छैन भन्नुहुन्थ्यो प्रचण्डको मामुली कार्यकर्ता हुनुभएछ।”,उनले भने। सधैँ उधारो सम्झौता हुँदैन भन्ने नेपाल बारे थप टिप्पणी गरेर उनलाई दुःखी बनाउन आफूले नचाहेको ओलीले बताए।

“म उधारो पत्याउँदिनँ हात्ताहात्ती चाहिन्छ। भन्नुहुन्थ्यो। हामीले एकीकृत पार्टी बनाउनका लागि पो दुई अध्यक्ष बनाएका थियौँ। तर, फुटाउनका लागि पनि दुई वटा अध्यक्ष चाहिन्छ र?”,उनले भने।

यस्तै ओलीले पार्टी एकतालाई जोगाइराख्न आफूले गरेका हरेक प्रयास प्रचण्ड-नेपालले असफल बनाएको पनि बताएका छन्। पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गरेको ओलीको भनाई छ। पार्टी एकता जोगाउनको लागि प्रचण्डसँग सम्झौता गर्दा-गर्दा थाकेको ओलीले कार्यकर्ता माझ सुनाए।

“मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, उहाँले सहमति कार्यान्वयन गर्नुभएन।”,ओलीले भने।

प्रकाशित : बुधबार, पुष १५, २०७७१७:४७

“मैले जति काम अहिले सम्म कसैले पनि गरेको छैन”