मंगलबार रातिको खेलमा कप्तान लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले आइबार विरुद्ध बराबरी खेलेको छ। खेलपछि बार्साका लेफ्ट ब्याक जुनियर फिर्पोले हारको जिम्मा बार्सिलोनाका खेलाडी रहेको बताएका छन्।
सुपरस्टार कप्तान मेस्सी खुट्टाको चोटका कारण अनुपस्थित रहेको खेलमा मार्टिन ब्रेथवेटले ५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्ने अवसर गुमाए। आइबार विरुद्ध १६ सट प्रहार गरेको बार्सिलोनाको ५ सट अन तार्गेट थियो।
धेरै मौका पाएपनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा रोनाल्ड कोमनको टोली आफूभन्दा तुलनात्मक रूपमा कमजोर टोलीसँग अंक बाढ्न बाध्य भयो।
“हामीलाई गोल गर्न हजार अवसरहरू चाहिन्छ,” बार्सिलोनाका डिफेन्डर जुनियरले मार्का मार्फत भने। “उनीहरू [आइबार] ले एक स्पष्ट मौका पाए र गोल गरे।”
जुनियरले थपे: “यो हाम्रो यस सिजनको चलन नै भइसकेको छ।” यस बराबरीसँगै बार्सिलोनाको १५ खेलबाट २५ अंक भएको छ। शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको १३ खेलबाट ३२ अंक छ। बार्सिलोना भने छैठौं स्थानमा रहेको छ।