काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भने, ‘यो प्रजातिको कोरोना भाइरस नेपालमा पनि आउन सक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सक्छौं । यसको घातक प्रभाव कम भएकाले डराउनुपर्दैन ।’ हाल सरकारले बेलायतबाट आवतजावत बन्द गरेको छ ।