काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओली गरेको दावी गरेका छन्। प्युठानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको एक भेलालाई सम्बोधन गर्दै पोखरेलले त्यस्तो बताएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दावी गरे।
२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको उनको दावी छ।
देशबाट लोडसेडिङ हटाउन ओली सरकारले योजना तयार पारेको र त्यहिँ योजना अनुरुप देशबाट लोडसेडिङ हटाइएको उनले दावी गरे। कुलमान घिसिङले व्यवस्थापन गरेको भएपनि उनले मात्र लोडसेडिङ हटाए भन्न नमिल्ने पोखरेलको भनाई छ।
एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनले तर्क गरे। कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गर्नुका साथै राम्रो व्यवस्थापन गरेपनि योजना भने सरकारको रहेको पोखरेलको तर्क छ।
“कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्। विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।”,कार्यकर्ता माझ मुख्यमन्त्री पोखरेलले भने।