प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।
मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्थानुुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृ-त्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुुरोध गरेको छ ।
झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्ध उजूरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुुरोध गरेको छ । आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

