काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजनपछि दुई समुहमा विभाजित भएकाहरु आ–आफ्नो औचित्य पुष्टि गर्न लागिपरेका छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली एंव अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले नेता कार्यकर्ता आफ्नो पक्षमा पार्न देशव्यापी कार्यक्रम गरिरहेका हुन् । केन्द्रमा कुन पक्ष आधिकारिक भनेर निर्वाचन आयोगमा लडाई लडिरहेका बेला जिल्लामा भने समुहको भेला निरन्तर भईरहेका छन् । काठमाडौंमा ओली समुहले आज भेला गरेको छ भने प्रदेश–१ का विभिन्न स्थानमा प्रचण्ड–नेपाल समुहले भेलाहरु गरेका छन् । दुवै पक्षले आफुहरु नै आधिकारिक भएको भन्दै नेता कार्यकर्तालाई आश्वस्त बनाउन थालेका छन् । तर, निर्वाचन आयोगले भने दुवै पक्षलाई सातदिन भित्र दावी पेश गर्न लिखित पत्रचार गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
प्रधानमन्त्री ओलीले शनिवार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै असन्तुष्ट समूहको अगुवाइ गरिरहेका नेताहरूले निर्वाचन आयोगमा ‘आफूहरू असली हो’ भनेर निवेदन दिएको जानकारी पाएको बताए । ‘जसको घर हो, जसको जमिन हो, ऊ मेरो हो भन्दै निवेदन हाल्न जान्छ ? यो पार्टी हामीले बनाएको हो । विधिसम्मत ढंगले पार्टी सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने ?’
प्रधानमन्त्रीले कार्यक्रमहरुबाट स्पष्ट रुपमा प्रतिनिधिसभा पुनःस्थापना हुँदैन र नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफ्नै नेतृत्वको पार्टीले पाउँछ भन्ने सन्देश दिएका थिए । उनले प्रतिनिधिसभा विघटन संविधान अनुसार नै गरेको भन्दै पुनःस्थापना हुन्छ कि भन्ने भ्रम कत्ति पनि नपाल्न कार्यकर्तालाई निर्देशन दिए । ‘कतिपय साथीहरुमा प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि भन्ने अन्योल पनि रहेछ । दुई चारजनालाई झुक्याउन अरुले भन्दैछन् । तर देश चुनावमा गइसक्यो । ६४ प्रतिशत बहुमत प्राप्त दलको नेताले म सरकार चलाउँदिन, ताजा जनादेशमा जान्छु भनेपछि पुनःस्थापना गरेर कहाँ पठाउने ? ३६ प्रतिशतले सरकार बनाउन सक्छ ? त्यसैले यो भ्रममा कोही नबसौं’, उनको भनाई थियो ।
दाहाल–नेपाल पक्षले सरकार र पार्टी विघटन गरेर प्रतिगमन गर्न लागेपछि राष्ट्रको बाँकी अवधि खेर जान नदिन चुनाव गर्नुपरेको सुनाए । ‘घरवाला भन्दैछ छानो चुहियो अर्को बनाउँछु, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ भने त्यसको कुनै अर्थ छैन । छिमेकीले पुरानै छानो चाहियो भन्नु खरका टुक्रा खोजे जस्तै हो प्रतिनिधिसभा पुनःस्थापना’, उनले भने ।
यता, दाहाल–नेपाल समूहले भने पुस २० देखि माघ २३ सम्मका निम्ति दोस्रो चरणको विरोध कार्यक्रमहरू सार्वजनिक गरेको छ । ती कार्यक्रमअन्तर्गत स्थानीय तहहरूमा भेला, विभिन्न सहरहरूमा भेला, दलहरूसँग र नागरिक समाजसँग अन्तरक्रिया लगायत माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने उल्लेख छ ।
पुस २४ गते प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरेर गलत कदम सच्च्याउन अनुरोध गर्ने पनि उल्लेख छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पहिलो चरणको संघर्षका कार्यक्रमहरूपश्चात् विघटन विरुद्ध रहेका सबै दलहरूसँग संयुक्त संघर्षको पहलकदमी स्वरूप वार्ता गरेको तर त्यसको अझै कुनै निर्णय हुन नसकेको जनाइएको छ ।