काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली दुई पद मध्ये एक पद छाड्न राजि भएको खुलासा भएको छ। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पद दुईमध्ये एक छाड्न राजि भएको एक मन्त्रीले खुलासा गरेका हुन्।
ओली नेतृत्वको नेकपाका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आइतबार प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन खोजेको आरोप लगाएका हुन्।
दुई मध्ये एक पद छाड्न ओली तयार हुँदा-हुँदै पनि प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन खोजेपछि पार्टीमा समस्या उत्पन्न भएको रायमाझीको भनाई छ।
आइतबार रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पार्टी एकताका लागि प्रधानमन्त्री लचिलो हुन खोजेपछि अर्को पक्षबाट समस्या पैदा गर्ने कार्य मात्र भएको बताए।
“सम्माननीय प्रधानमन्त्री ओलीले एउटा पद छोड्नु हुन्थ्यो, मिल्नका लागि लचकता अपनाउनु भएको थियो। हामीलाई थाहा छ, हामीले पहल गरेका थियौँ, तर उहाँहरुलाई अध्यक्ष र प्रधानमन्त्री दुवै चाहियो।”,उनले भने।
प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले अध्यक्ष माग्दै हिँडेपछि मात्र प्रधानमन्त्री ओलीले संसद विघटनको कदम उठाएको उनले सङ्केत गरे। प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले अध्यक्ष माग्दै हिँड्नुको कुनै तुक नभएकाे उनले बताए।
प्रचण्ड–नेपालले पद माग्दै सडकमा झरेको उल्लेख गर्दै उनले जनता माझ जान अझै बाँकि नै रहेको बताए। एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र ओली संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएता पनि अहिले आएर सम्झौता विपरित गरिएको षड्यन्त्रले पार्टी विभाजन तर्फ गएको उनको भनाई छ।