काठमाडौं । प्रदेश सरकारले ‘टुटल’ र ‘पठाओ’ सञ्चालनमा कडा नियम कानुन ल्याएको छ । निजी मोटरसाइकललाई व्यावसायिक प्रयोजनका लागि प्रयोग भएपछि प्रदेश सरकारले ऐनमार्फत केही व्यवस्थित गरेर चलाउन भनेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएको छ । अहिले यी दुई संस्थाले सरकारलाई कुनै पनि प्रकारको कर नतिरी निर्वाधरूपमा सञ्चालन गर्दै आएका छन् । केही समयअघि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बन्देज लगाउने तयारी गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा त्यो कार्य रोकिएको थियो ।
तर, प्रदेश सरकारले ऐन नै ल्याएर यसलाई व्यवस्थित गर्न लागेको हो । निजी सवारीलाई गैर–व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ । अहिले भने यस्ता सवारीले केवल यात्रुबाट निश्चित ठाँउमा पु¥याएको रकम मात्र लिने गरेका छन् ।
निश्चित ठाँउमा जाँदा दुर्घटना भए कसले व्यहोर्ने, सुरक्षाको जिम्मा कसले लिनेजस्ता कानुनी कुरा उल्लेख गरिएको छैन । प्रदेशले यसलाई सम्बोधन गर्ने गरी सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई (गैर–व्यावसायिक सवारी) व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी व्यवस्था गरेको छ । गैर–व्यावसायिक सवारीको भाडा निर्धारण र यात्री बिमा सहज भए पनि यस्ता सवारीको रुट कायम गर्न भने जटिल देखिएको छ ।
ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर–व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ । त्यस्तै उपदफा २ मा गैर–व्यावसायिक सवारी व्यावसायिकरूपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ । यातायात व्यवस्था विभागले पनि केही समयअघि संघीय सरकारलाई भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटकोव्यवस्था गर्न सुझाव गरेको थियो । त्यसो नगर्ने हो भने टुटल र पठाओ जस्ता सेवा नै बन्द गर्नु उपयुक्त हुने राय विभागको थियो ।
संघीय सरकारले हालसम्म संघीय यातायात ऐन आउन सकेको छैन । प्रदेश ३ सरकारले २०७५ माघमै प्रदेश यातायात व्यवस्था ऐन ल्याइसकेको छ । उक्त ऐनमा गैर–व्यावसायिक सवारीलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । तर, प्रदेश सरकारले बनाएको यातायात ऐनको दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्रु ओसारपसार गर्न सक्नेछ भनी लेखिएको छ ।