एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको बार्सिलोना फिर्ती गत वर्ष देखि बहसको विषय बनिरहेको छ। नेयमारको बार्सिलोना फिर्ता हुने विषयमा बार्सिलोनाका उच्च अधिकारी देखि बार्सिलोनाका समर्थक सम्म विभाजित छन्।
केहि बार्सिलोनाका उच्च अधिकारीहरुले नेयमारलाई अहिले पनि प्राथमिकतामा राख्छन् भने केहि नेयमार माथि अहिलेको समयमा लगानी गर्नु खासै लाभप्रद नहुने बताउँछन्।
हालसालै बार्सिलोनाका अधिकांश समर्थकहरु नेयमारलाई बार्सिलोनामा फिर्ता ल्याउन नहुने पक्षमा रहेको खुलेको छ। केहि समय अगाडी मात्रै गरिएको एक सर्वेक्षणले अधिकांश बार्सिलोना समर्थकहरु नेयमारलाई बार्सिलोनामा फिर्ता ल्याउनु हुँदैन भन्ने पक्षमा रहेको देखाएको छ।
बार्सिलोना सोसियोसले गरेको सर्वेक्षणमा सहभागी ५० दशमलभ ५ प्रतिशत नेयमारको फिर्तीको विपक्षमा थिए भने २४ दशमलभ ५ प्रतिशत सहभागीहरुले आर्थिक रुप सस्तो र सहज भए मात्रै नेयमारलाई फिर्ता ल्याउनुपर्ने बताएका थिए। नेयमारलाई जुनै पनि हालतमा बार्सिलोना ल्याइनुपर्छ भने पक्षमा मात्रै ५ दशमलभ ५ प्रतिशत सहभागीहरु रहेका थिए।
नेयमारलाई कुनै पनि हालतमा बार्सिलोना ल्याउन हुँदैन भन्नेमा ५० देख ६४ वर्ष उमेरका ६६ दशमलभ ७ प्रतिशत व्यक्तिहरु थिए। त्यस्तै सर्वेक्षणमा सहभागी भएका ६५ वर्ष भन्दा बढी उमेरका लगभग ६० प्रतिशत सहभागीहरुले पनि नेयमारलाई बार्सिलोना ल्याउने विषय विरुद्ध मत जाहेर गरेका थिए।