काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रमुख तीन दलले प्रतिनिधिसभा विघटन नभएको निष्कर्ष निकालेका छन् । संविधानमा नै नभएको अधिकार प्रयोग गरेर गरिएको संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै नेकपा प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले थप घोषित आन्दोलनलाई सशक्त बनाएर लैजाने बताएका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
प्रतिनिधिसभा विघटन भएलगत्तै संयुक्त गठबन्धन बनाएर सरकारविरुद्ध आन्दोलन गर्ने भनिए पनि तीन दलले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका हुन् । प्रचण्ड–नेपाल समूहले केन्द्रदेखि वडा तहसम्म विरोधको कार्यक्रम घोषणा गरेको छ । त्यसै गरी कांग्रेसले पनि देशव्यापीरुपमा वडा तहसम्मको विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्दै आएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर ह”’त्या गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा कहींकतै पनि नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाटै काम गर्न दिइएन भनेर संसद् विघटन गर्न बाध्य भएँ भन्ने तर्क गलत भएको बताउँदै उहाँले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो हुन पुगेको बताउनुभयो । ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मौलाउने काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो।’ –अध्यक्ष नेपालले भन्नुभयो । उहाँले संविधानअनुसार संसद् विघटन हुन नसक्ने बताउनुभयो ।