काठमाडौँ, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा विरोध भैरहेको छ । त्यसैले प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको अनुसार बैठकको सम्भावित कार्यसूचीमा ओलीले सम्बोधन गर्ने उल्लेख नगरिए पनि प्रधानमन्त्री आफैले राष्ट्रिय सभामा आउँछु भनेका थिए। त्यसपछि ओलीको सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।
फोटोकपी गर्न चालीस रुपैयाँ
निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य तिर्नुपरेको गुनासो आएको हो । बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको रु ४० तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले बताउनुभयो । सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “किन यति महङ्गोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको छ ।” यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताउनुभयो । दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि रु ४० मा फोटोकपी गर्नुपरेको छिरिङले बताउनुभयो । अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुशी असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन् । बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ । यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको बताउनुभयो । सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उहाँको भनाइ छ । सिधैँ काठमाडौँबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने बैंकले जनाएको छ ।