प्रधानमन्त्री केपी शर्मा ओलीले अब गफ फिट्ने दिन गएको बताएका छन्। आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै ओलीले समयमै निर्वाचन हुने दाबी गर्दै यस्तो बताएका हुन्।
“गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, अब चुनावी मैदानमा आउनुस्,” उनले भने। अहिलेसम्मका कुनै पनि सरकारले भन्दा आफ्नो सरकारले धेरै काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले सबैलाई अब कुरा फिट्ने भन्दा पनि काम गरेर देखाउन आग्रह गरेका छन्।
आफ्नो लोकप्रियताको शून्य भएको भन्नेहरुलाई पनि ओलीले कडा जवाफ दिएका छन्। “कस्को लोकप्रियता कति छ भनेर त जनताले निर्वाचनमा देखाइदिहाल्छन्। निर्वाचन भन्नेवित्तिकै सातो किन गएको?” ओलीले प्रश्न गरे।
त्यस्तै, आफूले पाँच वर्ष सरकार चलाउन चाहे पनि त्यसमा समस्या देखिएपछि प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ। ‘‘मैले त धेरै प्रयास गरेको हो पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा पनि यहि नै थियो, तर केहि पनि काम गर्नै दिएनन् । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्नको लागि मात्र २८० वटा बैठक भएका रहेछन्, ’’ ओलीले भने।