नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे ।
उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गरे ।
भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।