प्रधानमन्त्रीलाई पेरिसडाँडा बैठकको कडा चेतवानी !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

नेकपा (दाहाल–नेपाल) समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ ।

बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए ।

‘चार पूर्वप्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकामा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको छ,’ सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने ।

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको विरुद्धमा संसद् विघटन गरेको उल्लेख गरेका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रका रूपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ ।’

संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न बैठकले आह्वान गरेको छ । यस्तै बैठकले राज्यको साधन स्रोतको लगानीमा सञ्चालिन सरकारी सञ्चारमाध्यमले कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमलाई गुटको सेवा गर्ने काम बन्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा यसअघि नै घोषणा गरिएको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने निष्कर्ष बैठकको रहेको उनले बताए । यसैबीच पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियुले आइतबार बयलगाडा -याली निकालेका छन् ।

गणतन्त्र स्थापनाका लागि २०६२-०६३ भएको जनआन्दोलनमा प्रधानमन्त्री ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भन्ने टिप्पणी गरेका थिए । ओलीले जनआन्दोलन अर्थहीन रहेको भन्ने सन्दर्भमा त्यतिबेला भनेको उक्त भनाइलाई व्यंग्य गर्दै अनेरास्ववियुले काठमाडौंसहित देशका विभिन्न ठाउँमा बयलगाडासहितको -याली प्रदर्शन गरेको हो ।

अनेरास्ववियुकी नेतृ आरती लामाले प्रधानमन्त्रीले गणतन्त्र र संघीयता नचाहेको कुरा उनको विगतका भनाइ र व्यवहारबाटै प्रस्ट देखिएकाले बयलगाडा प्रदर्शन गरिएको बताइन् । जनआन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री ओलीले बयलगाडामा चढेर अमेरिका जानुजस्तै रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित : सोमबार, पुष २७, २०७७०७:१६

निर्वाचनमा जान काँग्रेस तयार