बेलायतबाट काठमाडौं आएका तीन जनामा देखियो नयाँ प्रजातिको कोरोना !

काठमाडौँ – नेपालमा पनि नयाँ प्रजाति (भेरियन्ट)को कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। विदेशबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।

बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणले तीन जनामा नयाँ प्रजातिको कोरोनाको संक्रमण रहेको पुष्टि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।

केही समय अगाडी बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण देखिएको र ती मध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाई छ।

नयाँ प्रजातिको कोरोनाबाट संक्रमित हुनेहरुमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूष रहेका छन्। संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेको र संक्रमणमुक्त हुन बाँकि ६७ वर्षीय पुरूषमा कुनै लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सतर्कता अपनाउन आग्रह

नेपालमा कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएसम्म उच्च सावधानी अपनाउन, सकेसम्म भीडभाडमा नजान, अनिवार्य रुपमा मास्क लगाउन र अन्य सुरक्षाका विधि अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए। “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।” उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए। उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१३:५८

‘जनकपुर–जयनगर रेल्वे’ यहि महिनाको अन्तिमदेखि सञ्चालनमा आउँदै