काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका प्रभावशाली नेता डा. भीम रावलले माधव नेपाललाई जेल हालेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्रममा रावलले माधव नेपाललाई जेल हालेर देखाउन ओलीलाई चेतवानी दिएका हुन्।
प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले ओलीले आफ्ना महासचिव विष्णु पौडेललाई चाहिँ चोख्याएर नेता नेपाललाई कारबाही गर्छु भन्नु हाँस्यास्पद रहेको बताए।
ललिता निवास प्रकरणको छानबिनका क्रममा दोषी देखिएका आफ्ना महासचिव पाैडेललाई कारबाही गर्न नसक्ने ओलीले अरुलाई जेल हाल्छु भन्नु हाँस्यास्पद कुरा बाहेक अरु केहि नहुने उनको भनाई छ।
केही दिनअगाडि नेकपा ओली समूह सुदूरपश्चिमक अध्यक्ष कर्ण थापाले आफूहरूसँग प्रमाण भएकाले ललिता निवास प्रकरणमा माधवकुमार नेपाल जेल जाने दावी गरेका थिए। त्यसयता माधव नेपाल जेल जाने चर्चा चल्दै आएको छ।
सो विषय बारे टिप्पणी गर्दै पूर्व मन्त्री समेत रहेका रावलले ओलीका महासचिव महोदय विष्णु पौडेलकाे छोराको नाममा घर भएको प्रमाणित भइसकेको उल्लेख गरे। सो प्रकरणमा नाम मुछिएपछि पौडेलले घर फिर्ता गरेर बच्न खोजेको उनको आरोप छ। कुनै चोरी गरेपछि चोरी गरेको फिर्ता हुँदा कानुनमा सजाय नहुने दुनियाँमा कतै छ भन्दै उनले प्रश्न समेत गरे।
“ललिता निवासमा जब उहाँहरुले छानबिन गर्नुभयो। उहाँका महासचिव महोदय विष्णु पौडेलकाे छोराको नाममा घर भएको प्रमाणित भयो। हत्तपत्त घर फिर्ता गरेर म बचेँ भन्न पाइन्छ। कुनै चोरी गरेपछि चोरी गरेको फिर्ता हुँदा कानुनमा सजाय नहुने दुनियाँमा कतै देख्नुभएको छ? कुरा त्यहाँ छ। थुन्ने माधव नेपाललाई रे ! हाँस्यास्पद तर्क।”