टेकु अस्पतालका डा. राजभण्डारीले लगाउने भए नेपालमा कोरोनाविरुद्धको पहिलो खोप

नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन्।

बुधबार बिहान १० बजेबाट सुरु हुने खोप अभियान अन्तर्गत पहिलो खोप भने आफूले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउने स्वयम् डा. राजभण्डारीले जानकारी दिए।

कोरोना विरुद्धको खोप कत्तिको सुरक्षित छ भन्ने शंका सर्वसाधारणमा रहेकोले आफूले पहिलो खोप लगाउन लागेको उनको भनाइ छ। खोप सुरक्षित रहेको सन्देश सबैमा दिन आफूले यस्तो कदम चालेको डा. राजभण्डारी बताउँछन्। उनले भने, ‘खोप सुरक्षित छ कि छैन यसले कुनै असर गर्ने हो कि भन्ने डर अहिले सामान्य नागरिकका साथै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ। यस्तो समयमा यो खोप सुरक्षित छ भन्ने सन्देश दिन जरूरी छ, यहि कारणले पनि मैलै पहिलो खोप लगाउने निर्णय गरेको हुँ। मसँगै अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुनेछ। अग्रपङ्क्तिमा रहेका मानिसले नै पहिला खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ कि भन्ने लागेको छ।”

बुधबारबाट सुरु हुने खोप अभियानको सती प्रदेशमा सबै तयारी पूरा भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान १० बजे काठमाण्डाैकाे तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१४:०९

मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरे विवाहको फोटो [फोटो फिचर]