काठमाडौं । कोभिड–१९ प्यान्डेमिकलाई सफलतापूर्वक सम्हाल्न सक्ने ९८ वटा देशहरुको सूचीमा नेपाल ७० औं नम्वरमा परेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
न्युजिल्यान्ड, भियतनाम अनि ताइवान सबैभन्दा शीर्षमा परेका छन् । नेपालले चाहिँ यो सूचीमा ७० औँ स्थान हासिल गरेको हो । यसमा कोभिड प्रस्तुतिका लागि न्यूजिल्यान्डले सबैभन्दा धेरै ९४.४ नम्बर प्राप्त गरेको छ भने नेपालले ३६.५ नम्बवर प्राप्त गरेको छ ।
चीनलाई समावेश नगरिएको यो सूचिमा दक्षिण एशियामा नेपालभन्दा मात्र ०.३ नम्वर ल्याएर पाकिस्तान अघि छ । श्रीलंका भने शिर्ष १० मै समेटिएको छ । महामारी नियन्त्रणमा सबैभन्दा राम्रो व्यवस्थापन गर्न सक्ने शीर्ष दशका अन्य देशहरुमा थाइल्यान्ड, साइप्रस, रुवान्डा, आइसल्यान्ड, अष्ट्रेलिया, लटिभा अनि श्रीलंका रहेका छन् जहाँ संक्रमण संख्याा र मृत्युदर दुवै प्रति आय दरका हिसाबले अत्यन्तै कम रहेको छ ।
यसमा विश्वकै सबैभन्दा उच्च संक्रमण अनि मृत्युदर भएको अमेरिका केबल १७.३ नम्बरसहित अन्तिम पाँचमा अर्थात ९४ औँ स्थानमा परेको छ । बेलायत र अमेरिका दुवैको कोभिड व्यवस्थापन धेरै कमजोर रहेको यसले देखाउँदछ । त्यस्तै १ करोड १० लाख संक्रमित संख्या भएको भारतले कोभिड व्यवस्थापनका लागि २४.३ अंक प्राप्त गरि ८६ औँ मा पर्न गएको छ । ‘द लोवी इन्स्टिच्युट’ ले बिहीबार सार्वजनिक गरेको यस सूचीमा चीनलाई भने समावेश गरिएको छैन । चीनको वुहानमा कोरोनाभाइरस पहिलोपटक देखा परेको भए पनि सार्वजनिकरुपमा सबै डाटाहरू उपलब्ध नभएकाले यसलाई सूचीमा नराखिएको बताइएको छ ।
यसमा ९८ राष्ट्रहरुको उपलब्ध डाटाका आधारमा १४ दिनसम्मको प्रति दशलाख मानिसमा औसत नयाँ संक्रमण दर, दैनिक मृत्युदर, प्रति हजार व्यक्तिमा परीक्षण दर र यसको दायरा सम्बन्धी ३६ हप्तासम्म अध्ययन अनि मूल्यांकन गरि सूची तयार पारिएको इन्स्टिच्युटले जानकारी दिएको छ । विश्वभर कोरोना संक्रमणको संख्याले १० करोड पार गरी मृत्युको संख्या २० लाख पुगेको खबरसँगै यो सूची पनि सार्वजनिक गरिएको छ ।
यता दक्षिण कोरियाले २० औँ स्थानमा ६९.४ नम्बर प्राप्त गरेको छ । सूचीको अन्तिममा ९८ औँमा परेको ब्राजिलको नम्बर केबल ४.३ रहेको छ भने त्योभन्दा एक स्थान माथि ९७ मा मेक्सिकोले ६.५ स्कोर प्राप्त गरेको हो । यिनको कोभिड व्यवस्थापन सूचीका आधारमा सबैभन्दा कमजोर मानिएको छ ।