गाउँ-गाउँ इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना !

सिराहा – सिराहाको नवराजपुर गाउँपलिकामा गत साउनमा सुबिसु केबलनेटले निःशुल्क इन्टरनेट जडान गरिदिएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा ठेक्का पाएर सुबिसुले जोडिदिएको इन्टरनेट सुरुका दुई–चार दिन त चल्यो, तर अहिले पूरै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताए । ‘इन्टरनेटले काम गरेन भनेर सुबिसुमा सम्पर्क गरेको उल्टो धम्क्याउँछन् । अब गुनासो लिएर कहाँ जाऔँ हामी,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

सिराहामा मात्रै होइन, धनुषाको धनौजी गाउँपालिकाको अवस्था पनि उस्तै छ । सुबिसु नेटवर्कले करिब ६ महिनाअगाडि गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान गरिदिएको थियो । तर, इन्टरनेट नै नचलेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत जलालुदिन खाँले बताए । ‘राउटर र तार झुन्ड्याएर गएका छन् । तर, यसले काम नै गर्दैन । तार पनि चुँडिइसक्यो । सुबिसुका कर्मचारीलाई धेरैपटक गुनासो गरेँ । तर, सुन्दै–सुन्दैनन्,’ उनले भने।

सिराहा र धनुषा जिल्लामा पूरै इन्टरनेट जडान भइसकेको भनेर सुबिसुले करिब साढे २८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, अधिकांश गाउँपालिका कार्यालय, विद्यालय तथा अन्य निकायमा जोडिएको इन्टरनेटले काम गरेको छैन ।

प्राधिकरणले मुलुकभरका जिल्लालाई १८ प्याकेजमा विभाजन गरेर इन्टरनेट जडान गरेको थियो । त्यसमध्ये सिराहा र धनुषा प्याकेज नम्बर ७ मा पर्छन् । यस प्याकेजका लागि सुबिसु र प्राधिकरणबीच ३१ करोड ४४ लाखमा सम्झौता भएको थियो । सो जिल्लामा शतप्रतिशत काम सकिएको भन्दै सुबिसुले ९० प्रतिशत भुक्तानी लिइसकेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभरका स्थानीय तहका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जोड्न ब्रोडब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गरिरहेको छ। प्राधिकरणले मुलुकभर निःशुल्क ब्रोन्डब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गर्न १८ वटा प्याकेज बनाएर ६ सेवाप्रदायकसँग ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता गरेको छ।

यसमध्ये प्राधिकरणले सेवाप्रदायकलाई २ अर्ब ७४ करोड भुक्तानी गरिसकेको छ । तर, राज्यको अर्बौँ रुपैयाँ खर्च गरेर जोडिएको निःशुल्क इन्टरनेट स्थानीय तहहरूले प्रयोग गर्न पाएका छैनन्, तार झुन्ड्याइएको छ, राउटर फालिएको छ । तर, इन्टरनेट आउँदैन।

इन्टरनेट जोडेको भोलिपल्टैदेखि चलेन इमेल खोल्न सदरमुकाम
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा इन्टरनेट जडान भए पनि चल्दैन । मर्कन्टायल कम्युनिकेसनले स्थानीय निकायको कार्यालय र ६ वटा वडा कार्यालयमा इन्टरनेट जडान गरिदिएको भोलिपल्टदेखि नै नचलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७०९:१६

स्वास्थ्यमा गम्भीर असर पार्ने इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध, बजारमा छ्पाप्छ्याप्ती !