काठमाडौँ – मकवानपुरमा भएको एक सवारी दुर्घटनामा परी लगभग २ दर्जन घाइते भएका छन्। मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन्।
दुर्घटना बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा भएको प्रहरीले जनाएको छ। ना३ख ३३४४ नम्बरको उक्त बस धियाँलबाट हेटौंडा जाँदै थियो।
प्रहरीका अनुसार बसमा ३० जना यात्रु थिए। त्यस मध्ये २२ जना घाइते भएको र घाइतेहरुलाई जिल्ला अस्पताल हेटौंडा पुर्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको प्रहरीको भनाई छ।
दुर्घटनामा एकको ज्यान गयो, एक घाइते
चितवनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् । ज्यान गुमाउनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

