क्रिस्टियानो रोनाल्डो सानै उमेरमा नै सुपरस्टारडमको लागि दौडी सकेका थिए। १७ वर्ष कै उमेरमा आफूमा केहि विशेष क्षमता छ भनेर प्रदर्शन गर्न सफल उनले निकै खतरनाक शैलीमा आफ्नो खेल जीवनको पहिलो गोल गरेका थिए। आज उनी क्लब या देशका लागि कुल ७६० गोलका साथ फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
उनको महानताको गाथा स्पोर्टिंग सिपीबाट सुरु भयो जहाँ उनले आफ्नो नाम ड्रिबलिङ फेनमको रूपमा स्थापित गरे। र निकै उत्कृष्ट शैलीमा आफ्नो करियरको पहिलो गोल गरे। त्यसपछि, उनले आफ्नो करियरमा थप ७५९ गोल गरिसकेका छन्।
स्पोर्टिंग सिपीमा आफ्नो छाप छाडीसकेका उनी त्यसपछि म्यानचेस्टर युनाइटेड तर्फ लागे जहाँ उनी विश्वस्तरका खेलाडीको रूपमा स्थापित भए र छिटै विश्व कै सर्वश्रेष्ठ खेलाडी पनि घोषित भए। बेलायतमा ६ वर्ष राज गरेपछि उनी स्पेनको रियल म्याड्रिडसँग अनुबन्धित भए। स्पेनिस राजधानीमा सम्भावित हरेक उपाधि जितेका रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसका लागि खेलिरहेका छन्। अबको केहि दिन मै ३६ वर्षका हुने रोनाल्डोले अहिले सम्म पनि करियरमा कुनै कमी देखाएका छैनन्।
यस्तोमा उनले आफ्नो महानता अझ प्रवल बनाउने पक्का छ। प्रश्न मात्र यो हो कि रोनाल्डोले आफ्नो करियरको अन्त्य भयो घोषणा गर्नु अघि अब कति गोल गर्लान् त ? १०० ? १५० ? त्यो त समयले नै बताउला।