काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र निर्वाचनको घोषणाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा प्रष्ट दुइृ विचार प्रकट भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा देखिएका छन् भने रामचन्द्र पौडेललगायतका नेता प्रतिनिधिसभाको पुनःस्थापनामा अडिग देखिएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
देउवा नेकपा विभाजन भएको बेला निर्वाचनमा जाँदा काँग्रेसलाई प्रतक्ष्य फायदा देखिएका छन् । रामचन्द्र पौडेल पक्ष भने नेकपा औपचारिकरूपमा फुटिनसकेकाले काँग्रेसले अहिल्यै मुख मिठ्याउन नहुने तर्क गर्छन । पौडेको पक्षको तर्कमा अहिले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा काँग्रेसलाई उभ्याउँदा हुने दुई फाइदा देखाउछन् ।
पहिलो पुनःस्थापनाको पक्षमा काँग्रेस डटेर लागे नेकपाको प्रचण्ड –माधव पक्षलाई बल पुग्ने हुनाले उनीहरूको ओलीसंगको दूरी अझ बढ्छ, दोश्रो काँग्रेस संविधानवादमा अडिएको पनि देखिन्छ ।
देउवाको हिसाब भने यस्तो छ
नयाँ संरचना अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कूल संख्या १६५ रहेको छ । समानुपातिकतर्फ कूल ११० सिट छ । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा पहिलो स्थानमा रहेको तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । काँग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । तत्कालीन माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको थियो ।
एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट पाएको थियो । माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा १२ सिट पाएको थियो । काँग्रेसले प्रत्यक्षतर्फ मात्रै २३ र समानुपातिकमा ४० सिट जितेको थियो । यो तथ्यांकका आधारमा आगामी निर्वाचनमा दुई टुक्रा भएको नेकपा एक आपसमा भिँड्दा सबैभन्दा आफूलाई फाइँदा हुने देउवाको बुझाइ छ ।
नेकपा विभाजनपछि निर्वाचनमा जाँदा हुने लाभका विषयमा सभापति देउवाले आफूपक्षीय नेताहरुसँग हिसाब किताब गर्न थालिसकेको बुझिएको छ । काँग्रेसले पनि नेकपा विभाजनको हिसाब किताब गर्न थालेको छ । बुढानीलकण्ठले निकालेका हिसाब किताब अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा ४२ स्थानमा झण्डै ४ हजार मत अन्तरले काँग्रेस उम्मेदवार पराजित भएका थिए ।
आगामी निर्वाचनमा नेकपा दुई टुक्रामा विभाजन भएका कारण काँग्रेसलाई ४२ स्थानमा जित निकाल्न कठिन नहुने काँग्रेसको बुझाइ छ । तर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको मिलनबाट प्रदेश दुईमा केही कठिनाइ थपिएको काँग्रेसको बुझाइ छ । ०७४ मा चुनावी प्रत्यक्ष र समानुपातिक गरी ३४ सिट जितेको समाजवादी र राजपाको गठनबन्धन यतिबेला जनता समाजवादी पार्टीका रुपमा एक भएको छ । ०७४ का ५ दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएका थिए ।
तीमध्ये २ वटा पार्टी एक आपसमा मिलेका कारण ३ पार्टीमा सीमित भए । नेकपा फुटेको अवस्थामा अब राष्ट्रिय पार्टीको संख्या ४ पुगेको छ । मुख्य रुपमा यीनै दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसमा अहिलेको अवस्था आफू अनुकुल भएको देउवाको बुझाइ छ । आगमी निर्वाचनमा काँग्रेसले कम्तिमा १ सय सिटसहित शीर्ष स्थान हासिल गर्ने लक्ष्य राखेको छ । प्रत्यक्षमा ६० बढी सिट र समानुपातिकतर्फ ४० लाख मतको टार्गेट राखेको काँग्रेस ४० बढी सिट पाउने हिसाबमा छ । देउवालाई यही हिसाब किताबबाट चुनावी माहोलले तानेको देखिन्छ ।