काठमाडौँ – विभाजित नेकपाको एक खेमाको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन जाने कार्यक्रम रहेको छ।
नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन जान लागेको बताइएको छ।
ओली निकट नेकपा चितवनका अनुसार ओलीले आज चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त सभालाई ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रचण्ड–माधव पक्षको विरोध
चितवन पुगेर सम्बोधन गर्नु अगाडी प्रधानमन्त्री केपी ओली महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए ।
त्यस्तै आज पनि केपी ओली सहितको टोलि चितवन आउने भएपछि प्रचण्ड–माधव पक्षले भरतपुरका विभिन्न स्थानमा टायर बालेर विरोध जनाएका छन् । साथै उक्त पक्षले नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा समेत छरेको छ।
प्रधानमन्त्री ओलीलाई रेणु दाहालको आपत्ति
ओलीले महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने भएपछि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आपत्ति जनाएकी छन्।
आफ्नो कार्यकालमा हुन लागिरहेको विकास निर्माणमा ओलीले हस्तक्षेप गरेको भन्दै दाहालले आपत्ति जनाएकी हुन्। आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जर्बजस्ती शिलान्यास गर्न लागिएको उनको आरोप छ।

