खोले पकाउन बालिएको आगो ताप्दै थिइन् १०१ वर्षिया हिमादेवी, जलेर मृत्यु !

खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।

गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते उनको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकी थिईन् ।

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिन । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए ।

प्रकाशित : शनिबार, माघ १७, २०७७१२:३०

ओलीलाई बेवास्ता, प्रचण्ड-नेपाललाई भव्य स्वागत !