अर्को सिजन मेस्सी बार्सिलोनामै हुन्छन् भन्न सकिँदैन: कोमन

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले क्लबका कप्तान लियोनल मेस्सी बार्सिलोनामा नै रहनेमा आफू विश्वस्त नरहेको बताएका छन्। उनले आफ्नो टोलीका कप्तान अर्को टिमको खेलेको कल्पना पनि गर्न नसक्ने पनि बताए।

मेस्सी क्याम्प नाउमा आफ्नो वर्तमान सम्झौताको अन्तिम पाँच महिनामा प्रवेश गरिसकेका छन्। यस्तोमा, उनले क्लब छाड्ने बारे आए हप्ता चर्चा बढ्दै छ। पेरिस सेन्ट-जर्मेन, म्यानचेस्टर सिटी र इन्टर मिलानले चासो देखाएका मेस्सीले आफ्नो भविष्य बारे सिजनको अन्त्यसम्म केहि नबोल्ने बताइसकेका छन्।

सबै चर्चाको बीच मेस्सीको खेल स्तर भने खस्केको छैन। उनले २०२०-२१ सिजनमा बार्सिलोनाका लागी २४ खेलमा १६ गोल गरेका छन्। सिजनको सुरुवात खराब रहेपनि पछिल्ला केहि हप्तामा मेस्सीको लय उत्कृष्ट रहेको छ। क्लब प्रशिक्षक कोमन पनि उनको हालको लय देखेर निकै खुसी छन् तर उनी विश्वस्त छैनन् कि ६ पटकका ब्यालुन डी’ ओर विजेता यो सिजन भन्दा बार्सिलोनामा बस्नेछन्।

मेस्सीले बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने बारेमा प्रश्न गर्दा कोमनले द एथलेटिकलाई आफू यस बारे विश्वस्त नरहेको खुलासा गरे। उनले भने,”म यस बारे विश्वस्त छैन। म आशावादी छु, किनकि मेस्सी अझै पनि एक उत्कृष्ट खेलाडी हुन् र उसले अझै पनि हाम्रो लागि खेल जिताइरहेका छन्, टिमका लागि।”

“म उनका प्रशिक्षक भएकोमा रमाएको छु, हरेक दिन प्रशिक्षणमा उनको प्रतिभाको बारेमा देख्नुभयो भने….. अविश्वसनीय,” कोमन भन्छन्, “अवश्य पनि, मेस्सी बार्सिलोनामा सानो बच्चाको रूपमा आएका थिए। र म अझै पनि म मेस्सीलाई बार्साको जर्सी बाहेक अर्को क्लबको जर्सीमा देख्दिन।”

बार्सिलोनाले आफ्नो अर्को खेल बुधबार राति ग्रानाडासँग कोपा डेल रेको क्वाटर फाइनल खेल खेल्नेछ। २०२१ लागेसँगै उत्कृष्ट फर्ममा रहेको बार्सिलोनाले यो वर्ष कुनै पनि खेल निर्धारित समयमा हारेको छैन। बार्सिलोना यो उत्कृष्ट लयलाई निरन्तरता दिँदै कोपा डेल रे को सेमी फाइनलमा प्रवेश गर्ने दाउमा मैदानमा उत्रिनेछ।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१७:०२

यस्तो सुन्दर तरिकाले गरे मेस्सीले करियरको ५५ औं फ्री-किक गोल, छ साँच्चै नै अतुलनीय [भिडियो सहित]