नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको सरकार जंगली भएको आरोप लगाएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेनाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली नेतृत्वको सरकारले जंगलीराज शुरु गरेको बताएका हुन् ।
प्रचण्डले १० वर्षे जनयुद्धमा आफूहरुलाई जंगली भन्ने गरेको तर वास्तवमा अहिलेको सरकार चाहिँ जंगली भएको बताएका छन्। उनले भने, “पहिला हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तर आज ओली नेतृत्वको सरकारचाही जंगली राजमा चलेको छ।”
“केहि व्यक्तिले हामीलाई जंगली भन्थे तर हामी त जनताको पक्षमा थियौं, जनता कै काखमा थियौं,” प्रचण्डले भने। नियम कानुन र संविधान नमान्ने र मनमानी मात्र गर्ने भएकोले ओली सरकारलाई जंगली भएको उनको भनाइ थियो।
“अहिले सरकारले जे मन लाग्यो त्यहि गर्न थालेको छ। हामी त जनताको काखमै थियौं, अनुशासनमा थियौँ, विधिमा थियौँ। केहि मानिसले जंगली नै भने पनि हामी कम से कम जंगली त थिएनौं,” उनले भने। “तर ओलीको सरकार चाहिं जंगली भयो। न कानुन मान्ने, न संविधान नै मान्ने।”
त्यस्तै, सरकारले गरेको संवैधानिक परिषद्को नियुक्ति र शपथ कार्यक्रम प्रति पनि प्रचण्डले आपत्ति जनाएका छन्। उनले सरकारको यो कदमलाई विधि पद्धति तोड्ने काम भएको पनि बताएका छन्।
“विधि पद्धति तोडेर संवैधानिक परिषद्को शपथ गराइयो। गर्नै नहुने काम थियो,” प्रचण्डले भने, “जंगली राज सुरु भएको जस्तो संकेत भएको छ । निरंकुशता आएको संकेत छ । निरंकुशता सुरु भएको हो कि भन्ने महसुस हुन थालेको छ।”