काठमाडौँ – बिहिबार सुनको मूल्यमा केहि गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको छ। आजको गिरावटसँगै छापावाला सुनको मूल्य ९१ हजार १ सय काम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैंयाले घटेको छ। जसपश्चात तेजाबी सुनको मूल्य ९० हजार ६ सय कायम भएको छ।
यस अगाडी छापावाला सुन आइतबार ९२ हजार १ सय, सोमबार र मंगलबार ९२ हजार ६ सय तथा बुधबार ९२ हजार रुपैंयामा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९१ हजार ६ सय, सोमबार र मंगलबार ९२ हजार १ सय तथा बुधबार ९१ हजार ५ रुपैंयामा कारोबार भएको थियो।
सुन २ महिना यताकै सस्तो
बिहिबार कायम भएको सुनको मूल्य २ महिना यताकै कम रहेको छ। बिहिबारको मूल्य ६४ दिन यताकै सस्तो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मङ्सिर १७ गते ९१ हजारमा कारोबार भएयता आजको जति सुन सस्तो भएको थिएन।
चाँदीको मूल्य
बिहिबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा २० रुपैंया घटेसँगै चाँदीको मूल्य १ हजार ३ सय कायम भएको छ।