धरान – स्थानीय तहमा निवार्चित भएपछि जनप्रतिनिधिले कामै गरेनन् भन्ने जनगुनासो चिर्दै धरान उपमहानगरपालिका–१६ का जनप्रतिनिधिले उदाहरणीय कार्य गरेका छन् । वडा कार्यालयले बिहान बेलुका खानै नपुग्ने अतिविपन्न ३२ परिवारलाई हालै रासन कार्ड वितरण गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लक्षित वर्गको कार्यक्रम अन्तर्गतको बजेटबाट अतिविपन्न परिवारलाई रासन कार्ड वितरण गरिएको हो । बन्दाबन्दीका बेला राहतवितरण गर्ने क्रममा घर घरमा पुग्दा वडामा ९२ परिवार विपन्न र खानै नपुग्ने अवस्थाको भेटिएको उनले बताए । तीमध्ये ३२ परिवारलाई पहिलो चरणमा रासन कार्ड दिइएको जानकारी उनले दिए । बाँकी परिवारलाई पनि बजेटको व्यवस्था गरेर रासन कार्ड दिइने उनले बताए ।
अध्यक्ष गिरीका अनुसार विपन्न रासन कार्ड पाउनेको परिवार १ जनामात्र भए महीनामा १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल पाउनेछन् । परिवारमा एक जनाभन्दा बढी भएमा २५ किलो चामल दिइनेछ ।
वडा कार्यालयले अतिविपन्न २० परिवारका एक सयको स्वास्थ्य बीमा पनि गरिदिएको छ । वडा कार्यालयले ३५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सुविधा पाउनेगरी स्वास्थ्य बीमा गरिदिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवार छनोट गरेर स्वास्थ्य बीमा गरिदिएको वडा सदस्य सुरेश श्रेष्ठले बताए ।

