काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन्। आफूनिकट शिक्षकहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए। ‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो। तर हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुने छैन। त्यही तौरतरिका अपनायौं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं,’ नेपालले भने। कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने कामलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट आजित भइसक्यौं। केपी ओलीको नयाँनयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ,’ उनले भने। ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए।
ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए। नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए। ‘ओली बा समूह खोले हुन्छ। बा मन पराउनेहरू त्यही जान्छन्,’ अध्यक्ष नेपालले भने।
त्यस्तै सोही कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन्। ‘हाम्रो लडाइँ पदका लागि हैन, विचार, सिद्धान्त, प्रणालीका लागि हो। तर प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाइदिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ,’ उनले भने, ‘यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौं, त्यसकारण यो पदको लडाइँ हैन, अग्रगमन र प्रतिगमनको लडाइँ हो।’

