यस्तो ‘नाचघर’ बाएर करोड बजेट झ्वाम !

घोराही  – घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल (भित्ता) निर्माण गरियो । त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ ।

स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी (सिँढी) बनाइएको छ । ‘सिँढीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्युठानबाट ल्याइएको हो,’ नाच घर निर्माणको निगरानी गरेको जिल्ला वन कार्यालयका इन्जिनियर कृतिसिङ जिसीले भने, ‘ढुंगा खरिद र ढुवानीका लागि पनि महंगो लागत खर्च भयो ।’ नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल (भित्ता) उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ । ‘पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतहसम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ,’ इन्जिनियर जिसीले भने, ‘त्यो आरसिसी वालमा मात्रै ४० लाख रुपैयाँ खर्च भएको छ ।’

उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्युठानी’ ढुंगा अधिक महंगो रहेकाले पनि लागत बढेको हो । ‘प्युठानी ढुंगा प्रयोग भएका छन्,’ उनले भने ‘महंगो यो ढुंगा खरिद र ढुवानीमा पनि धेरै खर्च लागेको छ ।’ स्टेजको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाइ छ । यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौंबाट ल्याइएको उनले बताए । उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियर जिसीको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१०:५७

“सूर्य चिह्नको नेतृत्व गर्ने अधिकार म बाहेक अरु कसैलाई छैन”