केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई विवाह वार्षिकोत्सवकै दिन गिरफ्तारीको उपहार दिएको छ।

आज भन्दा ११ वर्ष अघि यसैदिन झाँक्री पशुपति पुरीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। उनले यस अवसरमा आज फेसबुकमा समेत पोष्ट गरेकी छिन्। झाँक्रीले आफू र आफ्ना श्रीमानलाई वैवाहिक वर्ष गाँठीको पोष्ट शेयर गरेको केहि समयमा नै प्रहरी उनलाई पक्राउ गर्न उनको निवास शंखमुल पुगेको थियो।

झाँक्रीलाई राष्ट्रपति बारे दिएको अभिव्यक्तिको आरोपमा पक्राउ गरिएको हो। झाँक्रीले राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ। झाँक्री माथि लागेको उक्त्र आरोप प्रमाणित भएको खण्डमा उनलाई सात वर्ष कैद र सत्तरी हजार जरिवाना वा दुवै सजाय हुन सक्छ ।

