काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।
तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।
केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए।
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।
त्यस्तै पशुसेवा विभागले एक विज्ञप्ति जारी गर्दै बर्डफ्लु रोग फैलिन नदिन विभागले सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेको छ। पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, नियमित रुपमा निःसंक्रमण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विभागको अनुरोध छ।

पशुपन्छीलाई मान्छेको सम्पर्कमा आउन नदिन, हाँस कुखुरा लगायतका पन्छीलाई खुला ठाउँमा नछाड्न, पालिएका पशुपन्छी मरेमा तत्कालै नजिकका पशु सेवाका निकायमा सूचना दिन पनि विभागले अनुरोध गरेको छ।

