“बार्सिलोना छाडे मेस्सी म्यानचेस्टर सिटिमै जानुपर्छ”

एजेन्सी – अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी पाब्लो जाबालेटाले लियोनेल मेस्सी म्यानचेस्टर सिटि जानुपर्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा जाबालेटाले बार्सिलोना छाडेर जाने भएको खण्डमा मेस्सी म्यानचेस्टर सिटि जानुपर्ने बताएका हुन्।

जाबालेटाले ला-लिगा छाड्ने निर्णय गरे मेस्सीका लागि प्रिमियर लिग सबै भन्दा बढी राम्रो हुने बताए। र प्रिमियर लिग क्लब मध्ये म्यानचेस्टर सिटि मेस्सीका लागि सबै भन्दा उत्कृष्ट क्लब हुने उनको भनाई छ। मेस्सी सिटि गएको खण्डमा क्लबलाई मात्र नभई प्रिमियर लिगलाई पनि धेरै लाभ हुने उनले दावी गरे।

“यदि मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरे र उनी सर्वश्रेष्ठ लिगमा खेल्न चाहन्छन् भने उनले प्रिमियर लिग छान्नुपर्ने हुन्छ।”,उनले भने,”प्रिमियर लिगमा उनको लागि म्यानचेस्टर सिटि नै सबै भन्दा राम्रो हुन्छ।”

धेरै वर्ष देखि ला-लिगामा रहेका मेस्सी प्रिमियर लिग गएको खण्डमा उक्त लिगले थप फाइदा उठाउन सक्ने उनको बुझाई छ। मेस्सीको लिग परिवर्तनले धेरै कुराहरुलाई असर गर्ने पनि उनले बताए।

त्यस्तै जाबालेटाले सिटिमा पेप गुआर्डीओला प्रशिक्षक रहेका कारणले गर्दा पनि मेस्सी सोहि क्लबमा जानुपर्ने बताउँछन्। साथै उक्त क्लबमा मेस्सीका नजिकका साथीहरु पनि रहेको र त्यसले मेस्सीलाई धेरै सहज हुने उनको भनाई छ।

जाबालेटा भन्छन्,”गुआर्डीओला मात्र नभई मेस्सीले नजिकबाट चिनेका धेरै व्यक्तिहरु सिटिमा छन्। बार्सिलोना छाड्ने निर्णय गर्छन् भने मेस्सीले आफूलाई सहज हुने क्लबमा जानुपर्ने हुन्छ। चिनेका व्यक्ति भएको ठाउँमा ‘सेटल’ हुन पनि सहज हुन्छ। तर, कहाँ जान्ने भन्ने निर्णय मेस्सी आफैंले गर्न सक्छन्।”

प्रकाशित : आइतबार, फागुन ०२, २०७७११:२४

लिभरपुलको उपाधि रक्षा अभियान समाप्त भएको क्लोपको घोषणा !