प्रेम होस् त यस्तो: भ्यालेन्टाइन डेको दिन श्रीमतीलाई मृगौला उपहार !

एजेन्सी – आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस विश्वभरका जोडीहरु मनाउँदैछन्। यस दिन जोडीहरु आफ्ना श्रीमान, श्रीमती, प्रेमी वा प्रेमिकालाई विभिन्न उपहार दिन्छन्। तर, भारतका एक व्यक्ति भने आज उनकी श्रीमतीलाई आफ्नो मृगौला नै उपहार स्वरूप दिँदैछन्।

भारतीय संचार माध्यमहरुका अनुसार श्रीमतीलाई मृगौला उपहार दिने भारतको गुजरात राज्यको अहमदाबादका विनोद पटेल रहेका छन्। उनले श्रीमती रिता पटेललाई प्रणय दिवस तथा वैवाहिक वर्षगाँठको अवसरमा मृगौला उपहार दिन लागेका हुन्। आज उनीहरुको वैवाहिक वर्षगाँठ पनि हो। आज उनीहरु विवाहको २३ औं एनिभर्सरी मनाउँदैछन् ।

रिता केहि वर्ष देखि मृगौला सम्बन्धि समस्याबाट ग्रसित छिन्। उनलाई अटोइम्युन किड्नी डिस्फंक्सन नामको समस्या छ। विगत ३ वर्षदेखि उनको उपचार भइरहेपनि उनको स्वास्थ्यमा सुधार आएको छैन।

मृगौला सम्बन्धि समस्याबाट छुटकारा नमिलेपछि मृगौला फेर्ने निर्णय गरिएको र जाँच गर्दा आफ्नै मृगौला मिल्ने थाहा भएपछि मृगौला उपहार दिने निर्णय आफूले गरेको विनोदको भनाई छ। आजै विनोदको मृगौला निकालेर रिताको शरीरमा प्रत्यारोपण गरिँदैछ।

आफ्नो जीवनसाथीलाई सम्मान गर्ने मात्र नभई आवश्यक परेको खण्डमा सक्दो सहयोग गर्न पछि हट्न नहुने विनोदको सन्देश छ। त्यस्तै रिता पनि श्रीमानको साथ पाएर मख्ख छिन्। उनी आफूलाई विश्वकै भाग्यशाली श्रीमती मान्छिन्।

रिताको उमेर ४४ वर्ष रहेको छ भने गत महिना उनको डायलासिस समेत गरिएको थियो ।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१८:२३

३००० डायनामाइट विस्फोट गरी उडाइयो ट्रम्पको ३४ तले भवन, भिडियो भाइरल