प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उनले उद्घाटन गरेका हुन् ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका तीनवर्षे कार्यकालका विषयमा जानकारी गराएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण भएको हो । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्ने जनाइएको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
पुनःनिर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरुपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ । कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ ।
सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत तीन मोहडाको पुनःनिर्माण भएको हो ।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए । निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले जनाएको छ ।