च्याम्पियन्स लिग राउण्ड अफ १६ को खेलमा युरोपका दुई महारथी बार्सिलोना र फ्रेन्च च्याम्पियन पीएसजी आमने-सामने हुँदै छन्। यी दुई बीचको खेल नेपाली समय अनुसार भोलि बिहान १:४५ मा बार्सिलोनाको होम ग्राउन्ड क्याम्प नाउमा सुरु हुनेछ।

उपाधिको प्रवल दाबेदारको रूपमा हेरिएको पछिल्लो संस्करणको फाइनालिस्ट पीएसजी समूह चरणमा ग्रुप एचको विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो भने बार्सिलोना समूह जीको उप-विजेता बन्दै राउन्ड अफ १६ को टिकट काटेको थियो। पछिल्लो समय यी दुई बीच २०१७ को राउन्ड अफ १६ मै एक-अर्कासँग भिडेका थिए।

पहिलो चरणमा ४-० को जित निकालेको पीएसजी दोस्रो चरणको खेलमा ६-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। उक्त खेलको हिरो नेइमार भने अहिले पीएसजीमा भएता पनि चोटका कारण उनी मैदानमा उत्रिन भने असमर्थ रहनेछन्।

ड्रको समयमा पीएसजीलाई निकै बलियो मानिएको भएता पनि नेइमार र डी मारियाको चोट र पछिल्ला केहि महिनामा बार्सिलोनाको सुधारिएको लय हेर्दा धेरैले यो खेल निकै रोमान्चक हुने आंकलन गरेका छन्।

आजको खेलमा पीएसजी २०१७ को ६-१ गोल अन्तरको हारको बदला लिने दाउमा हुनेछ भने बार्सिलोना पीएसजीलाई हराएर अझै पनि आफूमा दम छ भन्ने प्रमाणित गर्न मैदानमा उत्रनेछन्।

