रोनाल्ड कोमनको प्रशिक्षणमा रहेको बार्सिलोनाले गयराती च्याम्पियन्स लिगको राउण्ड अफ १६ को खेलको पहिलो लेगमा फ्रेन्च च्याम्पियन पीएसजीसँग आफ्नै मैदानमा लज्जास्पद हार व्यहोरेको छ। किलियन एम्बाप्पेले ह्याट्रिक गरेको खेलमा पीएसजी ४-१ गोलले विजयी भयो।

खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलको मद्दतले अग्रता लिएका बार्सिलोनाले उक्त अग्रता जोगाउन नसक्दा आफ्नै मैदानमा हारको सामना गर्न बाध्य भयो। पीएसजीको लागि एम्बाप्पेले ३२ औं मिनेटमा बराबरी गोल फर्काए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटबाट नै पीएसजी बार्सा माथि हावी देखियो।

रियल म्याड्रिडसँग पटक पटक नाम जोडिरहेको बेला एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ६५ औं र ८५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। मोइज किनले ७० औं मिनेटमा पीएसजीको लागि तेस्रो गोल गरेका थिए। यो ह्याट्रिकसँगै एम्बाप्पे क्याम्प नाउमा च्याम्पियन्स लिगको खेलमा ह्याट्रिक गर्ने मात्र दोस्रो खेलाडी बनेका छन्। यो भन्दा पहिले सिभचेन्कोले १९९७ मा यो काम गरेका थिए।

यी दुई बीचको दोस्रो लेगको खेल मार्च १० मा पीएसजीको होम ग्राउन्ड पार्क डे फ्रान्समा हुनेछ।

