च्याम्पियन्स लिगको खेलमा क्याप नाउमै बार्सिलोनालाई ४-१ ले पराजित गर्दा पीएसजीका लागि किलियन एम्बाप्पेले उत्कृष्ट ह्याट्रिक गरे। खेलपछि एम्बाप्पेको तारिफ गर्दै उनका फ्रान्सेली टिममेट बार्सिलोनाका एन्टोइन ग्रिज्मनले एम्बाप्पेलाई फुटबलिंग ग्रेट लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन्। ग्रिज्मनले एम्बाप्पे भविष्यमा मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने बताए।

गयरातीको ह्याट्रिकसँगै एम्बाप्पे बार्सिलोना विरुद्ध च्याम्पियन्स लिग खेलमा क्याम नाउमा ह्याट्रिक गर्ने मात्र दोस्रो खेलाडी बनेका छन्। सन् १९९७ मा एन्ड्री सिभचेन्कोले क्याम नाउमा ह्याट्रिक गरेपछि एम्बाप्पे यो कारनामा गर्ने पहिलो खेलाडी हुन्।

“म उसको लागि निकै खुसी छु,” ग्रिज्मनले आर.एम.सी स्पोर्ट्ससँग भने,”पछिल्लो समय उसको धेरै आलोचना भइरहेको थियो। तर तपाईं उत्कृष्ट हुनुहुन्छ भने कहिले काहीं यस्तो हुन्छ।”

“उसले थोरै मात्र पनि नराम्रो खेल्यो भने उनको आलोचना हुन थाल्छ। यो एकदम सजिलो छ। तर म विश्वास गर्छु कि पीएसजीसँग भविष्यको स्टार छ, जो लियो र क्रिस्टियानोको स्तरमा हुनेछ,” ग्रिज्मनले भने।

बार्सिलोना र पीएसजी बीचको दोस्रो लेगको खेल पीएसजीको होम ग्राउण्डमा मार्च १० मा हुनेछ। ४-१ को अग्रताका साथ मैदानमा उत्रिने पीएसजीसँग डी मारिया र नेइमारको उपस्थितिको बारेमा भने प्रश्न चिन्ह नै रहेको छ।

