संसद विघटन बारे पहिलो पटक बोले सीके राउत !

काठमाडौँ – जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य रुपमा लिन नसकिने बताएका छन्।

आइतबार रूपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका हुन्।

आइतबार बिहान लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राउतले प्रतिनिधिसभा विघटनलाई जटिल समस्याका रुपमा लिएर सोच्न पर्ने अवस्था आएको बताए। जनताले नेकपालाई देश विकास गर्नको लागि मत दिएको भएपनि सरकारले काम गर्न नसकेको उनको भनाई छ।

“जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन्। तर सरकारले त्यसअनुसार काम गर्न सकेन।”,उनले भने।

जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको उनले बताए। सरकारी पक्ष र विपक्षी सडकमा रहेको अवस्थामा जनताले के अपेक्षा गर्ने भन्ने उनको प्रश्न छ।

उनले भने,”सरकारी पक्ष र विपक्षी सडकमा छन्। यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? यो आजको प्रश्न हो । करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?”

नेपालमा धेरै व्यवस्था फेरिएपनि सोचेजस्तो उपलब्धि प्राप्त हुन नक्साको उनले बताए। नेपालमा सबै किसिमका व्यवस्था असफल हुँदा जनता निराश हुन बाध्य भएको उनको भनाई छ।

“हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो। नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्।”,उनले भने।

उनले अहिले बुद्धीजीवी, पत्रकार लगायतले नागरिक आन्दोलन सुरु गरेको भए पनि त्यसमा राजनीति रंग देखिएको बताए। आन्दोलन पक्ष÷विपक्ष भनेर गर्न नहुनेमा उनको जोड छ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१२:५७

उडुस मार्दै बित्छ कैन्दीबन्दीको रात !