काठमाडौँ – नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुखलाई प्रदेश २ सरकारले स्वागत नगर्ने भएको छ। संघीय सरकारले केहि दिन अगाडी मात्रै प्रदेश प्रमुखमा नियुक्त गरेको राजेश झा ‘अहिराज’लाई प्रदेश २ सरकारले स्वागत नगर्ने भएको हो।
दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै प्रदेश सरकारले आपत्ति जनाएको छ। प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहका अनुसार संघीय सरकारले गरेको उक्त नियुक्ति विरुद्ध आफूहरु रहेको बताए।
प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउन संघीय सरकारले त्यस्तो कार्य गरेको उनको भनाई छ। प्रदेश २ सरकारका अन्य मन्त्रीहरुले पनि संघीय सरकारको कार्यको विरोध गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झा शुक्रबार प्रदेश प्रमुख नियुक्त भएका थिए। यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ। सोहि विभाजनका कारण ओलीले विभिन्न पदहरुमा आफू निकटका व्यक्तिहरुलाई नियुक्त गरिरहेका छन्। प्रदेश २ का प्रदेश प्रमुखका नियुक्त भएका झा पनि पछिल्लो समय ओली निकट रहेका छन्।

