उपचारकाे लागि भन्दै पूर्वप्रधानमन्त्रीको भारत दाैडाहा, भारत नै रोज्नु शंकास्पद !

काठमाडौं । पछिल्लो ४८ दिनमा उपचारका लागि भन्दै नेपालका तीन पूर्वप्रधानमन्त्री भारत गएका छन् । राजनीतिक तरल अवस्थामा रहेका बेला उपचारका लागि भन्दै हुने गरेका यस्ता भ्रमणलाई सधै शंकाको नजरले हेर्ने गरिन्छ । विरामी भएर भारतमा उपचार गर्न जाने चलन नौलो भने होइन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई नयाँ दिल्ली पुगेका छन् । दाहाल र खनाल उपचार गरेर स्वदेश फर्किएका छन् भने आइतवार भट्टराई नयाँ दिल्ली पुगेका हुन् । प्रतिनिधिसभा विघटन भएपछि पत्नी सीता दाहालको उपचारका लागि भन्दै दाहाल भारतको मुम्बई गएका थिए । प्रतिनिधिसभा विघटन भएको १५ दिनपछि उनि दिल्ली हुँदै मुम्बई पुगे । प्रतिनिधिसभा विघटनपछि भारतसहित अन्तराष्ट्रिय शक्तिको समर्थन खोजेका उनि मुम्बईमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिएका भगत कोसियारीसँग भेटवार्ता गर्न खोजेका थिए । तर, भेटवार्ता हुन नसकेपछि उनि पत्नी सीतालाई त्यही छाडेर स्वदेश फर्किए । पार्किन्सनको बिरामी रहेकी सीताको उपचार मुम्बइको न्युरोजेन ब्रेन यान्ड स्पाइन इन्स्टिच्युटमा गरिएको थियो । दाहालसँगै उनका छोरीहरु पनि त्यहा गएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नेकपाका अध्यक्ष दाहाल पुषको २४ गते दिल्लीमा बसेर नेपाल फकिए । दिल्ली बसाईका क्रममा उनले कुनै राजनीतिक भेटवार्ता गरे वा गरेनन् भनेर केही खुलाइएको छैन । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल) समूहका वरिष्ठ नेता खनाल माघ ३० गते नयाँ दिल्ली गए । दिल्ली पुगेकै दिन भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खनाल अस्पताल भर्ना भएको तस्वीर सार्वजनिक गरे । फागुन ८ गते शनिवार खनाल स्वदेश फर्किए । प्रधानमन्त्री बनेको समयमा भारतबाट भ्रमणको निम्तो समेत नपाउने नेपालका प्रधानमन्त्री मध्येका एक हुन्, खनाल । भारतीय नेताहरूसँग खनालको गाढा सम्बन्ध नरहेको बेला बेलामा चर्चा हुने गरेको छ । उनि भारतभन्दा चीनतर्फ बढि झुकाव राख्ने नेताका रुपमा परिचित रहेको नेकपाकै नेताहरु बताउछन् । यसअघि उनले चीनमा उपचार गर्दै आएको भए पनि कोरोना संक्रमणका कारण उनले चीनको सट्टा भारत रोजेका हुन् । खनाल स्वदेश फर्किएको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. भट्टराई उपचारका लागि दिल्ली गएका छन् । अन्य नेताले विदेशमा उपचार गराउन जाँदा चर्को विरोध गर्ने भट्टराई भने आफै उपचार गराउन भारत गएका हुन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उपचारका लागि दिल्ली गएका हुन् ।

इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा भट्टराई नेपाली दूतावासको अतिथि गृहमा बस्नेछन् । होटलमा बस्दा अपारदर्शी भेट गरेको आरोप लाग्ने भएपछि भट्टराई नेपाली दूतावासकै अतिथि गृहमा बस्न लागेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिककदै गर्दा आफू लज्जितरदुःखित भए छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ दिल्ली पुगेपछि उनले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विगतमा पनि भारतमा हुने गरेको थियो । उनको भारत र सिंगापुरमा उपचार गरिएको थियो । विदेशमा उपचार गराउन गएको भनेर चर्को विरोध भएपछि उनले दोस्रो पटक मृर्गौलाको नेपालमै सफल प्रत्यारोपण गरेका थिए । नेपालमा स्वास्थ्य सेवा भरपर्दो रहेको चिकित्सकहरुले समेत बताउने गरेका छन् । तर, नेताहरुले भारत नै रोज्नुलाई पनि कतिपयले शंकाको भरमा हेर्ने गरेका छन् । नेपालमा हुने राजनीतिक परिवर्तन, २०६२÷६३ सालको जनआन्दोलनको पृष्ठभूमि समेत भारतमै तयार भएकाले अहिलेको भ्रमणलाइ कतिपयले शंकाका रुपमा बुझिरहेका छन् ।

नेताहरु मात्रै होइन सरकारी तवरमा पनि यसबीचमा भारतको भ्रमण भएका छन् । प्रतिनिधि सभा विघटन भएको केही समयपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माघ १ गते भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने ज्ञवाली परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुगेका थिए । त्यसक्रममा मन्त्री ज्ञवालीले विदेशमन्त्री डा. एस जयशंकर, भारतीय रक्षा मन्त्री राजनाथ सिंह लगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । प्रतिनिधि सभा विघटनपछि स्वास्थ्य उपचारका लागि भन्दै जसपा अध्यक्ष महन्थ ठाकुर पनि माघ २६ गते दिल्ली गएका थिए । पारिवारिक र अन्य कारण देखाउँदै कांग्रेसका केही नेताले पनि दिल्लीको भ्रमण गरेका थिए । यी भ्रमण स्वास्थ्य उपचारका लागि हुन् या राजनीति प्रेरित हुन भन्ने खुलेको छैन ।

प्रकाशित : सोमबार, फागुन १०, २०७७०८:१६

लोभले लाभ, लाभले विलाप: आधा करोड पाउने आशामा जब छ घण्टामा ७ लाख डुब्यो !