ओलीले आफूलाई महाराजधिराज ठान्छन्: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराज धिराज ठान्ने गरेको बताएका छन्। शनिबार ललितपुरको जावलाखेलमा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले ओलीमा आफ्नो विरोध सुन्न नसक्ने, बैठक, छलफलमा बस्न मन नगर्ने जस्ता चरित्र रहेको आरोप लगाएका छन्। “उहाँमा अरुको आलोचना सुन्न नसक्ने, बैठक बस्न मन नगर्ने, शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर काम भने नगर्ने प्रवृत्ति छ,” उनले भने, “पहिले महाराजधिराजले पनि यस्तै गर्थे, अहिले उहाँले आफूलाई महाराजधिराज नै ठान्छन्”

त्यस्तै, उहाँले अब प्रधानमन्त्री ओलीको वर्ग समेत परिवर्तन भएको भन्दै अब ओली आफ्नो वर्गमा नरहेको बताए। प्रचण्डले अहिले प्रधानमन्त्री ओली महाभारतको सकुनीको भूमिकामा रहेको समेत टिप्पणी गरे। “जेलमा बस्दा महाभारत र चाणक्य नीतिमात्र पढ्नुभएछ,” प्रचण्डले भने, “त्यहि भएर होला महाभारत र सकुनीको भूमिका खूब मन पर्दोरहेछ, अहिले उहाँ सकुनीकै भूमिकामा हुनुहुन्छ।”

दाहालले अब सहमति कोसँग गर्ने कोसँग नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा भएको बताउँदै पार्टी भनेको विधि र पद्दति भएको बताए। “विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन,” प्रचण्डले भने। पहिले पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा ‍सहमति भएको उनको भनाइ छ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१४:४५

ओलीले जेलमा महाभारत मात्र पढेछन्, त्यसैले अहिले सकुनी भएर निस्किए: प्रचण्ड