काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कुहिएको अण्डाजस्तै भएको टिप्पणी गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओली कुहिएको अण्डाजस्तै भएको टिप्पणी गरेका हुन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताए। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको उनको भनाई छ। माओत्सेतुङले कम्युनिस्टहरू अण्डा जस्तै फाइदाजनक हुन्छन् तर बिग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् भनेको प्रसंग प्रचण्डले स्मरण गरे।
“एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन।”,प्रचण्डले भने।
अण्डा शरीरका लागि प्रोटिनयुक्त भएपनि त्योभन्दा नराम्रो केहि पनि नहुने प्रचण्डले बताए। त्यस्तो अण्डालाई कि गाडिने अथवा जलाइने प्रचण्डको भनाई छ।
प्रचण्डले थप भने,”कम्युनिष्टहरु राम्रा हुन्छन्, तर गन्हाउन थाले र कुहिन थाल्यो भने त्यो भन्दा नराम्रो अरु केहि नै हुदैन। केपी ओली त्यही कुहिएको अण्डा हो। त्यो कुहिएको गन्हाएको अण्डा त खाइदैन नी। त्यसलाई त दफ्नाइन्छ। गाडिन्छ या जलाइन्छ।”

