काठमाडौँ – नेकपा एकीकरण जोगाइराख्न दोस्रो पुस्ताका नेताहरू केही दिन सक्रिय भए पनि यो समाचार तयार पार्दासम्म कुनै प्रगति भएको छैन। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रधानमन्त्री ओलीले राजीनामा दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे केही दिन छलफल भएको थियो। दाहाल–नेपाल समूहका युवा नेताहरूले सो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ।
बरु उनीहरूले दोस्रो पुस्ताका नेताहरूको विषयमा छलफल गर्न सकिने बताएपछि ओली समूहका नेताहरूले महासचिव विष्णु पौडेललाई अघि सार्ने गरी कुराकानी अघि बढाएका थिए।
ओलीका विश्वास पात्र शंकर पोखरेल र घनश्याम भुसालबीच पटकपटक कुराकानी भए पनि उनीहरूले खास सहमतिमा पुग्न सकेनन्। नेकपाका दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गरिरहेका बेला दोस्रो पुस्तामा नेतृत्व र प्रधानमन्त्रीको पद ल्याउनेबारे छलफल चलेको हो।
सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावललगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग छलफल गरेका थिए।
उनीहरूले उपनेता सुवास नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका थिए। तर बालुवाटारका तर्फबाट नेम्वाङको प्रस्ताव आएको स्रोतले जानकारी दिएको छ। दाहाल–नेपाल समूहले नेम्वाङका नाममा सहमति नहुने बताएका थिए। उनीहरूले महासचिवका नाममा कार्यकारी दिएर अन्य सचिवालयको संयुक्त बडी बनाएर जाने विषयमा छलफल गर्न सकिने संकेत गरेको स्रोतको दाबी छ।

